ढुक्कले यात्रा गर्नुस्, नागढुंगामा अब त्यस्तो जाम हुँदैन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता असोज १२ गते।

केही दिनअघि काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसेसम्म गाडीको ठूलो लाइन लाग्दा यात्रु नराम्ररी प्रभावित भए। यहाँको २०/२५ किलोमिटरको बाटो पार गर्न यात्रु घण्टौंसम्म कुर्न बाध्य भए।यात्रु शान्ति अधिकारीले गल्छीबाट नागढुंगा उत्रिन नौ घण्टा लागेको तीतो अनुभव सुनाए।

अस्तव्यस्त भएपछि सरकारले जाम हटाउन प्रहरीलाई निर्देशन नै दिनुपर्‍यो। त्यो देख्दा यसपालिको दसैं सास्तीमै बित्ने त होइन भन्ने आशंका भइरहेका बेला महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने सबै समस्या हल भइसकेको र अब त्यस्तो समस्या नहुने भन्दै नागरिकलाई आश्वस्त पारेको छ।

‘आज बिहानको अवस्था भन्नुपर्दा नागढुंगामा सबै सहज छ, गाडी क्यूमा समेत छैन, अब ढुक्कसँग यात्रा गर्दा हुन्छ, कुनै अकल्पनीय घटनाबाहेक समस्या हुने छैन’, महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले भने।उनका अनुसार अब विस्तारै उपत्यकाको चाप घट्दो क्रममा छ। खुसी र उमंगको चाड बडादसैं आजदेखि औपचारिक रूपमा सुरू भएको छ।

यो उमंग तबसम्म रहिरहन्छ, जबसम्म नेपाली सहज रूपमा आ-आफ्नो घरसम्म पुग्न सक्छन्। त्यो अवस्थामा पुर्‍याउनका लागि ट्राफिक प्रहरी अहोरात्र खटिएको छ भन्छन्, महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल।

ट्राफिक प्रहरीका अनुसार अघिल्लो हप्ता केही दिन नियमित वर्षा भयो। नागढुंगा तलको ढलान गरिएको सडकमा गाडी चिप्लिएर रोकिए, त्यही समयमा केही गाडीहरू बिग्रदा यात्रुले जामको समस्या झेल्नुपर्‍यो। रातभरको प्रयाससमेत सफल नहुँदा उत्पन्न समस्या शनिबारबाट भने हटेको प्रहरीले दाबी गरेको छ।

महाशाखाका प्रमुख ढकालले यो क्षेत्रमा ४० भन्दा बढी प्रहरी खटाइएको र गाडी तान्ने दुइटा र्‍याकरसमेत तयारी अवस्थामा राखिएको जानकारी दिए।उक्त र्‍याकरको ४० टनसम्मका गाडी तान्ने क्षमता छ। यातायात सहज पार्न महाशाखाले प्रहरी निरीक्षककै नेतृत्वमा १० जना छुट्टै ट्राफिक प्रहरी खटाएको छ।

यस्तै, आठ जना ट्राफिक प्रहरी मोटरसाइकल गस्तीमा सक्रिय छन्। उनीहरूले उक्त सडकमा ओभरटेक गर्न नदिने र ओभरटेक गरेमा तत्कालै कारबाही गर्नेछन्।धादिङबाट समेत प्रहरी परिचालन गरिएको छ। आजदेखि अत्यावश्यक सामान बोकेका बाहेक ठूला लहरी तथा ट्रकहरूलाई सात दिनका लागि आवागमन रोकेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *