देशको लाईफ लाईन “नौबीसे-नागढुंगा” सडकको जाम हट्यो ढुक्क भएर यात्रा गर्नुस

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता असोज १३ गते।

नौबीसे-नागढुंगा सडकको सवारी आवागमन सहज बन्न थालेको छ । लगातारको जामबाट यात्रुले सास्ती खेपेपछि प्रहरीले अप्रेसन टोली नै परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, शनिबारदेखि सुध्रँदै गएको नागढुंगा-नौबीसे सडक खण्डमा अहिले जाम छैन । सोमबार बिहानैदेखि जाम पूर्णरूपमा हटेको र सवारी साधनहरु सहज ढंगले गन्तव्यतर्फ अघि बढेको कार्यालयको भनाइ छ ।

‘सोमबार बिहानैदेखि नौबीसे-नागढुंगा सडक खण्डमा कुनै जाम छैन । सहज रूपमा सवारी आवागमन भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार बिहान सडकको पछिल्लो अपडेट सार्वजनिक गर्दै भनेको छ ।

दशैंको मुखमा जीर्ण सडक मर्मत नगरिँदा देशकै लाइफलाइन मानिने नौबीसे-नागढुंगा सडक केही दिन अस्तव्यस्त बनेको थियो । यात्रुहरूले यो खण्डमा दिनमै १२ घण्टासम्म जाम व्यहोरेका थिए । जामकै कारण एक बिरामीको ज्यानसमेत गएको थियो ।

दशैंको मुखमा सडक अस्तव्यस्त भएपछि यसको चौतर्फी आलोचना भएको थियो । आलोचनापछि गृह मन्त्रालयले सडक खुलाउन निर्देशन नै दिएको थियो । गृहको निर्देशनपछि अहिले यो सडक खण्डमा सवारी आवागमन सहज भएको छ । ठूला मालबाहक सवारी साधनलाई सो सडकमा गुड्न प्रतिबन्ध लगाइएको छ

दशैंमा घर फर्किने यात्रुले सडकमा सास्ती झेलेपछि धादिङ प्रहरीले अप्रेसन टोली परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको नेतृत्वमा राजमार्ग अप्रेसन टोली खटाइएको हो ।

यसरी परिचालन गरिएको टोली चौबीसै घण्टा खटिने र सडकमा कुनै अवरोध आएलगत्तै समाधान गर्ने कार्यालयले जनाएको छ ।

यात्राको दौरानमा कुनै समस्या आएमा कार्यालयको कन्ट्रोल रुमको टेलिफोन नं. ०१०-५२०१९९, ९८५१२८३४८० मा सोझै गुनासो गर्न पनि कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ ।

त्यस्तै, प्रहरी उपरीक्षक राजकुमार बैदवारको ९८५१२४५५५५, कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रूपक खड्काको ९८५१२२९८६० र अप्रेसन कमाण्डर अधिकारीको ९८५१२५५७७७ मोबाइल नम्बरमा सम्पर्क गरेर पनि आफ्ना गुनासो बिसाउन कार्यालयले यात्रुहरूलाई आग्रह गरेको छ । पृथ्वी राजमार्गको सडक खण्डमा रहेका विभिन्न प्रहरी कार्यालयहरूले पनि यात्रुहरूलाई सघाउने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *