अनलाईन न्युजपाटी,बुटवल,समाचारदाता असोज १६ गते।
बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको दशैं सस्तो बजारमा उपभोक्ताको भिड बढेको छ । बजारमा भन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तुको बिक्रि वितरण भएपछि सस्तो बजारमा उपभोक्ताको भिड बढेको हो । दशैं सस्तो बजारमा चिनी ७२ रुपैयाँ प्रति किलोमा बिक्रि वितरण गरिएको छ । बाहिर बजारमा ८० देखि ८५ रुपैंया सम्म किनबेच भईरहेको उपभोक्ताहरुले बताएका छन् । त्यस्तै २१ रुपैंयाको नुन सस्तो बजारमा १८ रुपैंयामा बिक्रि भईरहेको छ । तेलमा प्रतिकार्टुन ५० देखि ७० रुपैंया सम्म छुटमा बिक्रि भएको छ भने, बिशेष सहुलियतमा मरमसला, चिया, साबुन, सर्फ लगायतका सामान बिक्रि वितरण भईरहेको छ ।त्यसैगरी अर्गानिक रुपमा उत्पादन गरिएको छोप, अचार, मह लगायतका उपभोग्य बस्तुहरु सुलभ मुल्यमा बिक्रि वितरण गरिएको छ । मध्यम वर्गलाई मध्येनजर गरि पाल्पाको लोकल कुखुरा, छपियाको माछा, अण्डा लगायत बिशेष छुटमा बिक्रि वितरणको व्यबस्था गरिएको बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा दशैं सस्तो बजार समितिका सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराए ।त्यस्तै दशैं सस्तो बजारमा नयाँ नोट सटही गर्नकालागि सर्वसाधारणको भिड छ । नेपाल राष्ट्र बैंकको सहयोग र ग्लोवल आईएमई बैंकको समन्वयमा संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । त्यस्तै डिडिसीको दुग्धजन्य उत्पादनमा राखिएको स्टलमा पनि उपभोक्ताको उल्लेख्य भिड रहेको दशैं संस्तो बजारका संयोजक तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी गराए । डिडिसीले पनि बिशेष छुटमा आफ्ना उत्पादन बिक्रि बितरण गरेको डिडिसी बुटवका प्रमुख अयुव अलि खाँले बताए । १९ औं संस्करणको दशैं सस्तो बजारमा गुणस्तरीय ३० वटा स्टल राखिएको छ ।घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार यहि असोजको १७ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले उपभोक्तालाई मध्यनजर गरेर दैनिक उपभोग्य सामानको गुणस्तर र सहुलियत मुल्यमा बिक्रि वितरणको व्यबस्था मिलाईएको बताए । संघले सञ्चालन गरेको दशैं सस्तो बजारबाट लाभ लिनकालागि आम उपभोक्तालाई संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले आग्रह गरेका छन् ।