पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता असोज २८ गते।

 पर्साको विन्दबासिनी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आर्थिक वर्ष ०७६/०७७ को चौमासिक तलब र दशैं खर्च नपाएपछि विद्यालय बन्द गराएका हुन् ।पर्साको पकहामैनपुर र जगरनाथपुर गाउँपालिकाका शिक्षकहरुले पनि तलब पाएका छैनन् । दशैंमा तलब नपाएका उनीहरु दिपावली र छठका लागि पनि तलब नपाउने हो कि भन्ने चिन्तामा छन् । तलब प्राप्तीकै लागि आन्दोलन गर्ने तयारी उनीहरुले गरिरहेका छन् । २६.०४ वर्ग किमि क्षेत्रफलमा फैलिएको विन्दबासिनी गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालय छन्, ती विद्यालयमा १ सय ४० जना शिक्षक कार्यरत छन् । उनीहरुले साउन महिनादेखिको तलब, दशैं पेश्की लगायतका सेवा सुविधा केहिपनि पाएका छैनन् । त्यसैले शिक्षक संघ संगठनको नेतृवमा शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । यसअघि उनीहरुले तलब खुवाउन आग्रह गर्दै गाउँपालिकाको उपाध्यक्ष किरणदेवि गुप्तालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।मागको सुनुवाई नभएका कारण बुधबारदेखि गाउँपालिका घेराउ गर्ने तयारी भईरहेको रामस्वरुप रामपृत चौरसिया माविका शिक्षक नन्दु यादवले बताए । ‘साउनदेखिको तलब खान पाएका छैनौं, पाठ्य पुस्तकको अपुग रकम लगायत विद्यालय सञ्चालनका लागि आवश्यक कुनै रकम गएको छैन,’ उनले भने,  ‘असोज २३ गतेसम्म अल्टिमेटम दिएका हौं, तरपनि मागको सुनुवाई नभएपछि विद्यालय बन्द गरेका छौं । भोलिदेखि गाउँपालिका कार्यालय घेराउ गर्छौ ।’ शिक्षकहरु विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिएपनि कुनैपनि जनप्रतिनीधिले चासो नदिएको गुनासो उनको छ । तलब प्राप्ती आन्दोलनका लागि विन्दवासिनीका शिक्षकहरुले शिक्षक महासंघ विन्दवासिनीका अध्यक्ष धर्मेन्द्र चौबेको नेृत्वमा समिति नै गठन गरेका छन् । चाडवाडको मुखमा तलब खुवाउन पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएकोले आन्दोलनमा उत्रन बाध्य भएको अध्यक्ष चौबेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *