अनलाईन न्युजपाटी,विरगंज,समाचारदाता,कार्तिक ४ गते।
बाराबाट प्रहरीले कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका–१२ शितलपुर बस्ने मखन साह कानु पक्राउ परेका हुन् । शितलपुरकै मनेजर साह कानुको हत्यामा संलग्न रहेको अरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । मनेजरका छोरा प्रभु साह कानुले सोही ठाउँ बस्ने हरि शंकर साह कानु, मखन साह कानु लगायत विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरेका थिए ।प्रहरीका अनुसार २०७५ जेठ २३ गते मनेजर मखनको खेतमा सिंचाई गरे वापतको पैसा माग्न गएका थिए । सोही विषयमा बिवाद हुँदा मखन साह कानु तथा उनका छोराहरूले मिलेर मनेजरमाथि लाठी प्रहार गरेका थिए । ०७५ असार २४ गते उपचारको क्रममा मनेजरका न्युरो अस्पताल काठमाण्डौमा मृत्यु भएको थियो । घटनापछि फरार मखन साह कानुलाई प्रहरीले असोज ३० गते पक्राउ गर्न सफल भएको थियो ।बारा जिल्ला अदालतको कात्तिक ३ गतेको आदेशले उनलालाई पूर्पक्षको लागि वीरगञ्ज कारागार पठाइएको बारा प्रहरीले जनाएको छ ।