अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,कार्तिक ५ गते।
सप्तरीमा सशस्त्र प्रहरीले मदिरा सहित हतियार बरामद गरेको छ । छिन्नमस्ता गाउँपालिका – २ मोहनपुरबाट प्रहरीले मदिरा र हतियार बरामद गरेको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरबाट खटिएको प्रहरीको टोलीले मोहनपुरबाट एक थान पेस्तोल र २ राउण्ड गोली बरामद गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा आउट पोष्ट गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिनुभयो ।बुढाथोकीका अनुसार नेपालबाट भारतमा मोटरसाइकलमा मदिरा तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले देखेपछि तस्करहरु मदिरासमेत छोडेर भागेका थिए । तस्करहरु मोटरसाइकल छोडेर भागेपछि जाँच गर्ने क्रममा २८ पिस कस्तुरी तथा कस्तुरीको बीचमा हतियार फेला परेको उहाँले जानकारी दिनुभयो ।बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको तथा घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।