अनलाईन न्युजपाटी,धनकुटा, समाचारदाता, कार्तिक २० गते।
धनकुटामा प्रहारीले ६० हजार बोट गाँजा फडानी गरी नष्ट गरेको छ । प्रहरीले धनकुटा जिल्लाको विभिन्न स्थानहरूमा लगाइएको तथा प्राकृतिक रूपमा आफैँ उम्रिएका ६० हजारभन्दा बढी गाजाका बोटहरू फडानी गरी नष्ट गरेको हो । मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय धनकुटा, दंगा नियन्त्रण प्रहरी गण दुहवी र इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभुमी गाउँपालिका–१ र ३ को सिरवानी, च्याप्रुङ, सुन्तलाबारी, चिच्चे र गुर्दुङको करिब ३६ रोपनी जग्गामा अबैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा आफैँ उम्रिएका २२ हजार गाजाका बोट फडानी गरी नष्ट गरेको थियो ।यस्तै इलाका प्रहरी कार्यालय भेडरटारबाट खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–८ को खुडी, बाण्डे, खाम्चुवा, खेरेबोटे, पाखाटोल र खालिङको करिब ५ रोपनी जग्गाबाट ११ हजार ५ सय ५० गाँजाका बोट फडानी गरी नष्ट गरेको हो ।यसैगरी प्रहरी चौकी आँखिसल्लाबाट खटिएको प्रहरी टोलीले शहिदभुमी गाउँपालिका–४, ५, ६ र ७ को खोकु, सालबोटे, पाखा, गैरी, आइतबारेका विभिन्न स्थानहरूमा भएका २६ हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको तथा प्रहरी चौकी त्रिवेणीबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका–१ को गुर्धुङ, तीनतले र पाङनाङको अन्दाजी १५ रोपनी जग्गाबाट ३५ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।