अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २५ गते।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।भारतले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा मंगलबार प्रदर्शनमा उत्रिएका नेविसंघका विद्यार्थीले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएकाले राजीनामा दिनुपर्ने उनीहरूको भनाइ छ । नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा गरिएको विरोध प्रदर्शनमा सहभागीहरूले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?’, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’, ‘साथ दिन प्रतिपक्षी यहाँ छ, प्रधानमन्त्री ज्यू हाम्रो कालापानी कहाँ छ ?’ लगायतका नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेका थिए । गत शुक्रबारको प्रदर्शनमा उनीहरुले ‘भारतीय विस्तारवाद मुर्दावाद’ लेखिएको कालो ब्यानरसहित प्रदर्शन गरेका थिए । मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरूको आक्रोश ओली नेतृत्वको सरकारप्रति बढी देखिन्थ्यो । जम्मु–कश्मीरको विशेषधिकार खोसेर केन्द्र शाषित राज्यमा मिलाएपछि भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलगायतका नेपाली भूभाग समेटिएका छन् । जसको यतिबेला तीव्र विरोध भइरहेको छ । राजनीतिक तहमा नेपाली भूभाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।