अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २ गते।
काठमाडौंको बुढानिलकण्ठ–५ मा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्रु गोरखा घर भइ विष्णुमति बस्ने ४२ वर्षीया लीला देवकोटा छिन् ।शनिबार बिहान करिब साढे १० बजे महाराजगञ्जतर्फ जाँदै गरेको बा १४ च ६१२३ नम्बरको कारले उनलाई ठक्कर दिएको थियो । लगत्तै उपचारका लागि न्यूरो अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरे । प्रत्यक्षदर्शीका अनुसार चालक २१ वर्षीय पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेर अनियन्त्रित ढंगले कार चलाइरहेका थिए । त्यसक्रममा सडकपेटीमा रहेकी देवकोटालाई कारले ठक्कर दिएको थियो ।प्रहरीका अनुसार मल्लसहित कारमा सवार २० वर्षीय करिश मास्के दुई युवती लिएर शुक्रबार साँझ शिवपुरी नजिकैको डाँडागाउँ गएका थिए ।मल्लविरुद्ध सवारी ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग, बुढानिलकण्ठले जनाएको छ ।