अनलाईन न्युजपाटी,झापा समाचारदाता, साउन ३०।
झापा प्रहरीले बिहीबार साँझ शिवसताक्षी नगरबाट ठूलो परिमाणको गाँजा र त्यसका कारोबारीलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यलय झिलझिले र लागुऔषधविरुद्धको अभियन्ताले वडा नम्बर ११ दुधेबाट १२ किलो ग्राम परिमाणको गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय दिलबहादुर मगरको घरबाट ८ किलो, नरबहादुर मगरको घरबाट तीन किलो र ताराबहादुर कुँवरको घरबाट एक किलोग्राम गाँजा बरामद भएको हो।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोली र लागुऔषधविरुद्धको अभियानका युवाले गाँजाका कारोबारी दिलबहादुर मगरसहित दुई महिलालाई पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि झिलझिलेको अनुसन्धान कक्षमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुई साताअघिमात्र झापाको काँकडभिट्टाबाट सरुवा भई आएका प्रहरी निरीक्षक ठाकुरको टोलीले शिवसताक्षी नगरबाट मात्रै सात जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेका छन्। काँकडभिट्टामा रहँदा प्रहरी निरीक्षक ठाकुर मुद्दा शाखाको इन्चार्ज थिए।झिलझिलेमा सरुवा भएर आएदेखि नै ठाकुरले लागुऔषधविरुद्धको अभियानमा स्थानीय युवासँगको सहकार्य गरिरहेका थिए।
तीन दिनको अवधिमा पक्राउ परेका लागुऔषध प्रयोगकर्ता र सोका कारोबारीमध्ये केहीलाई सुधार केन्द्र पठाएको र केहीलाई कानुनी कारबाहीका लागि अनुसन्धानकै क्रममा राखिएको ठाकुरले बताए। गाँजासहित पक्राउ परेका मगरले आफूले दस वर्षदेखि गाँजाको व्यापार गर्दै आएको बताएका छन्।
उनले पाँचथरको रबिबाट गाँजा खरिद गरेर झापामा अवैध व्यापार गर्दै आएको प्रहरीसमक्ष बयान दिएका छन्। मगरको घर शिवसताक्षीसहित दमक, कनकाई, कमल, विर्तामोड लगायतका स्थानबाट युवा गाँजा सेवनको लागि आउने गरेको प्रहरीले बताएको छ।