अनलाईन न्युजपाटी,चितवन , समाचारदाता, भदौ १।
पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धानका लागि प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरि म्याद थप गरेपछि रवि समर्थक र प्रहरीबीच झडप भएको छ ।
शनिबार बिहान प्रहरी र रवि समर्थकबीच झडप भएको हो । प्रहरी भ्यानमा रवि समर्थकले ढुंगा प्रहार गरेपछि प्रहरीले लाट्ठीचार्ज गरेको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिनका लागि दुई राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।
आक्रोशित भिडले शुक्रबार पनि जिल्ला प्रहरी कार्यालय चितवनमा ढुंगामुढा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित युवराज कडेँल र रुकु कार्कीलाई पक्राउ गरेर पाँच दिन म्याद थप गरेको थियो ।पत्रकार पुडासैनीले आत्महत्याअघि खिचेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको थियो । पत्रकार पुडासैनीले आत्महत्याअघिको भिडियोमा नाम लिएका तीनजनालाई नै प्रहरीले बिहीबार दिनभरी लगाएर पक्राउ गरेको हो ।चितवनको एक होटलमा मृत भेटिएका पूर्वसहकर्मी पुडासैनीले आत्महत्या अघि बोलेको भिडियो सार्वजनिक भएको भोलिपल्टै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको हो । गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।