अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २।
भारतको फरीदावादमा ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण’ विषयमा नेपाली अधिकारीहरुलाई तालिम दिइएको छ । नेपालका विभिन्न सरकारी निकायका २० अधिकारीहरुलाई भारतको तर्फबाट तालिम दिइरहेको नेपालस्थित भारतीय दुतावासले जनाएको छ ।
सो प्रशिक्षण “भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम” अन्तर्गत भारत सरकारको पूर्ण सहयोगमा सञ्चालन भइरहेको छ ।
६ दिनसम्म चल्ने सो प्रशिक्षण प्राप्त गरिसकेपछि नेपालका सम्बन्धित निकायहरुको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलामा क्षमता अभिवृद्धि गर्ने भारत पक्षले अपेक्षा गरेको छ । नेपाली अधिकारीहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको अर्को उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको दूतावासले जनाएको छ ।