अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,असोज १ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो ।शहरी विकास मन्त्रालयका अनुसार, शिलान्यासलगत्तै यसको निर्माण कार्य सुरु हुनेछ । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । निर्माण थालेको साढे २ वर्षमा भवन तयार हुने मन्त्रालयको भनाइ छ । मन्त्रालयले तयार पारेको डिजाइन अनुसार तोकिएकै समयमा संसद भवन निर्माण भए अहिलेकै संसदका साथै आगामी निर्वाचन भएर बन्ने अर्को प्रतिनिधि तथा राष्ट्रिय सभाका लागि भाडामा खर्च गर्नुपर्ने अर्बौ रकम जोगिनेछ । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।अहिलेमात्रै होइन यसअघि संविधानसभा हुँदा समेत सम्मेलन केन्द्रलाई नै भाडामा लिइएको थियो । संसद सचिवालयका अनुसार हाल सम्मेलन केन्द्र विकास समितिलाई वार्षिक १५ करोड रुपैयाँ भाडा बुझाउने गरी सम्झौता भएको छ ।प्रतिनिधिसभा ५ वर्ष र राष्ट्रियसभाका लागि लिइएको उक्त भवन गत वर्ष ६ वर्षसम्मका लागि भनेर सम्झौता गरिएको छ । सम्झौतामा दुई-दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख गरिएको छ । यसकारण केन्द्रको भाडा बढ्दै जाँदा सरकारलाई आर्थिक भार पनि बढ्दै जाने छ ।