लक्ष्य निर्धारण गरेर अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रुपमा रुपान्तरण गर्न प्रमको निर्देशन

काठमाडौँ, साउन १५ गते समाचार दाता

 प्रधानमन्त्री  केपी शर्मा ओलीले अल्पविकसित राष्ट्रको स्तरबाट विकासशील राष्ट्रको रुपमा अबिलम्ब मुलुकलाई उठाउन सरकारको नीति, कार्यक्रम, बजेटद्वारा निर्दिष्ट र निर्धारित कामलाई समय तालिका निर्धारण गरेअनुसार लक्ष्य प्राप्तिमा अगाडि बढ्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य समयभित्रै पूरा गरी आधुनिक, सभ्य, सुसंस्कृति र सम्पन्न राष्ट्रका रुपमा नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि सकारात्मक र प्रभावकारी भूमिका खेल्न सक्ने बताउनुभयो ।

आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “यस आर्थिक वर्षको नीति, कार्यक्रम, योजना र बजेट कार्यान्वयनको सन्दर्भमा केन्द्रित भएर अगाडि बढ्ने स्पष्ट सोच र योजनासाथ काममा लाग्नकै लागि कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका हौं ।”

उहाँले संयुक्त राष्ट्र संघले तोकेको दीगो विकास लक्ष्य समय सीमाभित्रै प्राप्त गर्न समय सीमा निर्धारण गरेर दृढतासाथ काममा लाग्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “महिना महिनाको तालिका बनाएर रचनात्मक र अनुसन्धानमूलक ढंगले लक्ष्य पुरा गर्न लाग्नुस् । हामीले तय गरेका कामहरु राम्रो गुणस्तरसहित आफूले तोकेको समयभन्दा अगाडि नै पुरा गर्न कोसिस गर्नुस् ।”

उहाँले गत वर्षबाट सरकारले कार्यक्रमको आवधिक समीक्षा, आवधिक लक्ष्य निर्धारण, त्यसको मूल्याङ्कनको बाटोबाट अगाडि जाने प्रणालीको थालनी गरेको चर्चा गर्नुभयो ।

उहाँले गत वर्षको अनुभवलाई थोरै विकसित गरी कार्यसम्पादन सम्झौता गरेर बजेटका निर्दिष्ट लक्ष्यप्राप्ति गर्ने पहिलो प्रयास थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्पष्ट रुपमा आफुलाई पनि बाँधेर, आफैले बनाएका बन्धन, तोकेका सीमा, सुम्पेका अभिभारा र आफैँले निर्धारण गरेका समय तालिकाहरुमा एउटा सहमति र प्रतिबद्धता गरेका छौं ।”

उहाँले विकासशील राष्ट्रको रुपमा नेपाललाई पु¥याउन सबैको प्रयास र प्रतिबद्ध प्रयत्न आवश्यक भएको चर्चा गर्दै भन्नुभयो, “म गरिव छु भन्ने हीन भावना कसैमा रहन नपाउवस् । म पनि एउटा कर्तव्यशील नागरिक हुँ भन्ने भावना सबैमा विकास गर्न सकियोस् ।”

उहाँले ‘समृद्ध नेपाल, खुशी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष नीतिसाथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“सुशासन कायम गर्न, विकासको गतिलाई तीब्रता दिन, जनतालाई अधिकार सम्पन्न बनाउन, सेवा सुविधा उपयुक्त ढंगले सहज ढंगले पु¥याउन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दक्ष जनशक्ति निर्माण गर्न, विकासका पूर्वाधारहरु तीब्रतासाथ अगाडि बढाउन, पछाडि परेका जनतालाई अगाडि बढाउन विशेष नीतिका साथ अगाडि बढ्न आवश्यक छ ।”

उहाँले स्पष्ट दृष्टिकोण, सहि नीति, सहि ढंगले नीति कार्यान्वयन गर्ने कार्यक्रम, योजना र प्रतिबद्धतासाथ सरकार अगाडि बढेको बताउनुभयो ।

उहाँले गौरवपूर्ण इतिहासको पृष्ठभूमि, विकासको प्रयासमा साथ सहयोग र लगानी गर्ने अन्तर्राष्ट्रिय मित्र, सम्भावनाहरु पर्याप्त भएको मुलुकमा गरिवी हुनु विडम्बना नै भएको बताउनुभयो ।
उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’ कै लागि जनताले बहुमतको सरकार बनाएको बताउनुभयो ।

उहाँले योजनाबद्ध विकासमा मुलुकलाई अगाडि बढाउन शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सीमा वारपार अपराध, मानव तस्करी, लागू औषध र अन्य अपराधिक क्रियाकलाप नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रलाई सुशासन र विकासका काम अगाडि बढाउन भ्रष्टाचार नियन्त्रण र निर्मुलन गर्नुपर्ने बताउनुभयो ।

नेपाल सरकारका मन्त्री तथा सचिवहरुलाई बार्षिक कार्ययोजनासहित कार्यसम्पादन सम्झौता गराइएको यो पहिलोपटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *