अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,पुस २ गते।
जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज चौथो दिन तिलकोत्सव विधि मनाइँदै छ । गएको सोमबारदेखि सुरु भएको विवाह पञ्चमी आइतबार सम्म मनाइने छ ।
विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ र आज तिलकोत्सव भएको हो । पाँचौँ दिन मटकोर र छैटौँ दिन राम–सीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ । भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सीताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकका रुपमा छलफलबाट विवाह तय गरिन्छ । तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिने गरिन्छ । यसैलाई तिल्कोत्सव भन्ने चलन छ ।
विगत एक वर्षदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यसवर्ष विवाह पञ्चमी महोत्सव प्रभावित भएको छ । अन्य वर्षहरु झै यो वर्ष भारतको अयोध्याबाट जन्ती समेत आउने कार्यक्रम छैन ।
त्रेता युगमा राज जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।
उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् । जसलाई मिथिलाञ्चलमा सम्धी मिलन भनिन्छ ।