चिकित्सको लापरवाहीका कारण रंगेली अस्पतालमा सुत्केरी र शिशुको मृत्युपछि तनावग्रस्त

अनलाईन न्युजपाटी,विराटनगर समाचारदाता,फाल्गुन ०७ गते।

प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले रविनालाई वास्ता नगरेको भन्दै नवजात र सुत्केरी शिशुको मृत्यु भएको विषयलाई लिएर मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार दिउँसो तनावग्रस्त बनेको छ। सामान्य प्रसूतिमार्फत छोरा जन्माएकी रंगेली–९ दोहमनाकी २५ वर्षीय रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएको थियो। सुत्केरी व्यथाले च्यापेपछि रविनालाई सोमबार बिहान ६ बजे अस्पताल भर्ना गरिएको थियो।

त्यसपछि बिहान १० बजे सामान्य प्रसूतिमार्फत उनले दोस्रो सन्तानका रूपमा छोरा जन्माएकी थिइन्। अस्पतालले मृत बच्चा जन्मिएको र त्यसपछि स्वास्थ्य अवस्था असामान्य बन्दै गएर आमाको पनि मृत्यु भएको जानकारी दिएको छ। आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले घटना भएको भन्दै अस्पताल अगाडि अहिले नाराबाजी र प्रदर्शन गरिरहेका छन्। सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गर्दै आन्दोलित बनेका उनीहरूले मृत्युको वास्तविक कारण पत्ता लगाएर दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग राखेका छन्। 

अस्पतालमा तोडफोडको प्रयास भएपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा अवस्था कडा पारिएको छ । उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. अशोक ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको बताए।समस्या समाधानका लागि भनेर अहिले अस्पताल व्यवस्थापन समितिको बैठक बसिसकेको छ। तर बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन्। रविना र मनुका पहिलो सन्तान ७ वर्षका छोरा छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *