अनलाईन न्युजपाटी बिराटनगर, समाचारदाता, साउन २५ गते
विराटनगर –१६ दरैया बस्तीबाट सशस्त्र प्रहरीले भारत लैजान खोजिएको २३ लाख ७१ हजार मूल्य बराबरको अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का ५६ वर्षीय श्यामलसेन गुप्ता रहेका छन् । सशस्त्र प्रहरी बलको बिओपी बखरीको टोलीले दुई सय ६७ ग्राम सुनको चक्कीसहित गुप्तालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी मोरङका प्रमुख एसपी तीर्थ पौडेलले लकडाउनको समयमा भारततर्फ जान लागेको पाइएपछि शंका लागेर चेकजाँच गर्दा अवैध सुन बरामद भएको बताए ।
पक्राउ परेका गुप्तालाई आवश्यक कारबाहीका लागि सशस्त्रले विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रहरीले उनको साथबाट नेपाली रुपैयाँ ५ हजार, साइकल र मोबाइल बरामद गरेको छ ।