आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी‘श्रीकृष्ण जन्माष्टमी’मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २७ गते

भगवान् श्रीकृष्णको जन्म भएको दिन आज श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ।वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

विगतमा आजको दिन पाटनको कृष्ण मन्दिरमा भक्तजनहरुको घुइँचो लाग्थ्यो। केही दिन अघिदेखि नै तयारी सुरु हुन्थ्यो। यस वर्ष भने कोरोना महामारीका कारण कृष्ण मन्दिर नै बन्द छ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गरेर प्रशासन र टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेका हुन्।

कृष्ण जन्माष्टमीको दिन घरमै पूजाआज गरी परम्परालाई निरन्तरता दिन ललितपुर महानगरपालिका नगर कार्यपालिका कार्यालय र मंगल टोल सुधार संघ मंगलबजारले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *