अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, साउन २७ गते
जनकपुरधामबाट एक युवक स्वचालित पेस्तोलसहित पक्राउ परेका छन् । धनुषा प्रहरीले सोमबार धनुषा जिल्लाको मुखियापट्टी मुसरहनिया गाउँपालिका–३ बस्ने २१ वर्षीय सुजित यादवलाई पक्राउ गरेको हो ।
ज.१ ह. ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक थान म्यागेजिनसहित पक्राउ गरेको हो ।
जनकपुरधाम–१० बाह्रबिघा क्षेत्रमा हातहतियार बेचबिखनको लागि ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिको प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको हो ।
यादवले कालो रंगको प्लास्टिकको झोलामा राखिएको चिनीभित्र ४.५ लेखिएको अटोमेटिक पेस्तोल र म्यागेजिन लुकाएर राखेको पाइएको छ ।
यादव जनकपुरधाम उपमहानगरपालिका १० बाह्रबिघामा सो हतियार बेचबिखनका लागि आइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ताले जानकारी दिए ।
उनलाई धनुषा प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ताले बताए ।