अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १० गते
कोरोना सङ्क्रमित भएर सार्वजनिक स्थानमा गएको भन्दै कुटपिट गर्दा झापाको मेचीनगर नगरपालिका–१३ मा एक गर्भवतीसहित दुईजना घाइते भएका छन् । स्थानीय दुर्गा श्रेष्ठ र बिष्णुमाया प्रधानको आक्रमणबाट सोही ठाउँकी ७ महिनाको गर्भ रहेकी चन्द्रकता लाम्गादे र उनका श्रीमान सागर खाती घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रेष्ठले उनीहरुलाई गाली गलौज गर्दै निर्घात कुटपिट गरेको पीडितले बताए ।
सागरको परिवार स्थानीय राजन दर्जीको घरमा डेरा गरेर बस्दै आएका थिए । मेचीनगर नगरपालिका बाहिरबाट आएका एकजना मान्छेसँग बसेर खाजा खाएको भन्दै एक महिनाअघि दर्जीलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा पिसीआर गर्दा नेगेटिभ आएपछि उनी घरमा बस्न थालेका थिए ।
घटना अनुसार क्वारेन्टाइन बसेर आएपछि श्रेष्ठले दर्जीलाई कोरोना सार्न गाउँ आएको भन्दै निरन्तर गाली गलौज गर्ने गरेका थिए । दर्जीको घरअगाडि भएको क्यारेमबोर्ड खेल्दै गर्दा उनीमाथि गाली गलौज गर्दै श्रेष्ठले लखेटेका थिए । दर्जी भाग्दै सागरको घरमा गए । बेलुकी ८ बजे सागर र उनकी पत्नी चन्द्रकला भात खाँदै थिए ।
दर्जीलाई श्रेष्ठले जातीय अपशब्द बोलेर गाली गलौज गर्दा चन्द्रकलाले प्रतिवाद गरेकी थिइन् । सोही क्रममा श्रेष्ठले सागर र चन्द्रकलामाथि कुटपिट गरेका हुन् । पीडित सागरका अनुसार ७ महिनाको गर्भ रहेकी पत्नी चन्द्रकलाको पेट, ढाड, छाती लगायतका स्थानमा श्रेष्ठ दम्पतिले कुटपिट गरेका थिए । सागरलाई पेटीले कुटपिट गरेका कारण शरिरभरी निलडाम छ ।
उनीहरु दुबै उपचाररत रहेका छन् । घटनामा संलग्न दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।