पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन बस सेवा शुरु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ११ गते

पर्यटकलाई लक्षित गरेर देशदर्शन बस सेवा प्रालिले दिवा तथा रात्रिकालीन बस सेवा शुरु गरेको छ। पछिल्लो समय विश्वव्यापीरूपमा फैलिदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा समेत बढ्दै गएपछि झण्डै छ महिना लामो बन्दाबन्दी र निशेषधाज्ञाले बन्द रहेको यातायात क्षेत्रमा पर्यटकलाई लक्षित गरेर दिवा तथा रात्रिकालीन सेवा शुरु गरिएको हो।

यसअघि दिवा सेवामार्फत पर्यटकलाई गन्तव्यस्थलमा पुर्याउँदै आएका बाबा एडभेन्चर ट्राभल्स, बेन्चमार्क ट्राभल्स र दीपज्योति एडभेन्चर ट्राभल्सले देशदर्शन बस सेवा प्रालिमार्फत १६ वटा पर्यटक बसले पर्यटकलाई दिवा तथा रात्रिकालीन सेवा प्रदान गरेका हुन् । झण्डै रु १२ करोडको लगानीमा शुरु भएको बससेवा असोज १ देखि नै शुरु भइसकेको छ ।

उक्त बससेवा काठमाडौँको बौद्धबाट शुरु भएर अन्त्यमा सोह्रखुट्टे भएर छुट्नेछ। हाल काठमाडौँदेखि मुख्य पर्यटकीयस्थललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आइरहेका छन्। हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवन, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन्। पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा समस्यासमेत परेको व्यवसायी बताउँछन्।

व्यवसायीले हाल बिहान ५ देखि ७ बजेसम्म सोह्रखुट्टेको सडकमा पर्यटक बस पार्किङ गरेर यात्रु बोक्दै आएका छन्। रातको समयमा भने ग्यारेजमा शुल्क तिरेर राख्नुपर्ने बाध्यता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *