काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २९ गते

काठमाडौं राजधानीको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ताले जानकारी दिए । 

बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ । नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । प्रहरीका अनुसार घटनामा  ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको एसपीले जानकारी दिए । 

४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । 

ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *