अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक २४ गते
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको हो ।

नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।
निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।