अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ८ गते
कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गर्न लागेको हो ।
शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र घरमा रहँदा आवश्यक सचेतना अपनाउन अनुरोध गरेका छन् ।
सही ढंगले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, बेलाबेलामा साबुन पानीले हात हुने जस्ता सामान्य कुरा पनि पालनामा हेलचेक्राइँ गर्दा कोरोना संक्रमणको महामारी गहिरिएको अनुभव राख्दै मन्त्री पोख्रेलले भनेका छन्, ‘युवा परीक्षार्थी भाइबहिनीहरुले आगामी परीक्षामा कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्दै अरुको लागि पनि दृष्टान्त बन्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु । साथै घरमा रहँदा होस् वा परीक्षा केन्द्र आउँदाजाँदा आवश्यक सचेतना अपनाउन अनुरोध गर्दछु ।’
परीक्षा केन्द्रहरुमा भौतिक दुरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने जस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षा सम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरुको व्यवस्थापन गरिएको बताउँदै मन्त्री पोख्रेलले ढुक्क भएर परीक्षामा सहभागी हुन अनुरोध गरेका छन् ।
यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।