अनलाईन न्युजपाटी प्रिन्स मिश्र, कपिलवस्तु समाचारदाता, मङ्सिर १९ गते।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले ३५ हजार घूस रकमसहित सशस्त्र प्रहरीका प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई शुक्रबार पक्राउ गरेको छ ।
घूस मागेको उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट कृष्णनगरमा कार्यारत गुरुङ भारतबाट अवैधरुपमा ल्याइने घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट पैंतीस हजार घूससहित कृष्णनगरबाट पक्राउ गरेको हो ।

उनलाई कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एन्ड दुर्गा गेष्ट हाउसबाट अन्दाजी दिउँसो २ बजे रकमसहित पक्राउ गरिएको आयोगको कार्यालय बुटवलका सूचना अधिकारीले बताएका छन।
गुरुङलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल ल्याइएको र भोलि काठमाडौं पठाइने अख्तियारले जनाएको छ ।
सिमाक्षेत्रका सुचना संकलनका लागि राखिएका हवल्दार गुरुङ सशस्त्र प्रहरीका घुमुवा भनी परचित थिए तर सो सम्बन्धमा सशस्त्र प्रहरीबलको बिओपी कृष्णनगर पोस्टका प्रहरी निरिक्षक निरन्जन कार्कीसंग सम्पर्क गर्दा हामीले कसैलाई घुमुवा नराखेको जानकारी गराएका छन ।