अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २१ गते।
कोभिड–१९ सङ्क्रमणका कारण करिब आठ महिना बन्द रहेको देशको पर्वतीय उडान आजदेखि नियमित रुपमा शुरुआत भएको छ ।
महामारीका कारण विदेशी पर्यटक नभए पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै निजी क्षेत्रका ठूला वायुसेवा कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडान शुरु गरेका हुन् । बुद्ध एयरले आज एक एटिआर–७२ र दुई थान एटिआर–४२ जहाजमार्फत तीन उडान गर्यो । जम्मा १५० यात्रु पर्वतीय उडानमा सहभागी थिए ।
त्यस्तै यती एयरलाइन्सले एक एटिआर–७२ र एक जेटस्ट्रिम जहाजबाट ९२ यात्रुलाई पर्वतीय उडान गराएको कम्पनीले जनाएको छ । यी दुवै कम्पनीले अब हरेक शनिबार पर्वतीय उडान गर्नेछन् । यात्रुको माग बढेमा उडान थप्ने उनीहरुको योजना छ ।
अहिले पर्वतीय उडानका लागि अनुकूल मौसम मानिन्छ । सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमश्रङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायीत हुन्छन् ।
बुद्ध र यतीले पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरेका छन् । कोरोना सङ्क्रमण कायमै रहेको र विदेशी पर्यटक उल्लेख्य सङ्ख्यामा नआएकाले पनि एअरलाइन्सले आन्तरिक पर्यटकलाई आकर्षण गर्न उडान शुरु गरेका छन् । शनिबार बिदाको समय भएकाले परिवार आफन्त तथा साथीभाइ घुम्न सहज र सुलभ होस् भन्ने हेतुले अहिलेलाई अफर ल्याइएको एअरलाइन्सले जनाएका छन् ।