बालाचतुर्दशी पर्व यस वर्ष पनि बिहानै देखि शतबीज छरी मनाईदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २८ गते।

बालाचतुर्दशीका दिन आज बिहानै काठमाडौको पशुपतिनाथ लगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा शतबीज छरिएको छ ।

मार्गकृष्ण पक्षको चतुर्दशी अर्थात बालाचतुर्दशीको विहान परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा आज बिहानै शतबीज छर्नेहरुको घुइँचो नै देखियो ।

शतबीजको रुपमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम भगवान् शिव मृगरूप लिएर घुमेको क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने बताउँछन् ।

देशभरका शिव मन्दिरहरुमा अघिल्लो रात बालाचतुर्दशीको अघिल्लो रात आज दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गरेकामा यस वर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न कोषले अनुरोध गरेको थियो ।

पशुपतिमा शतबीज छर्न आएका अधिकांशले कोरोना संक्रमणको जोखिमका कारण मास्क लगाएका थिए । कतिपयले त फेससिल्ड लगाएको पनि देखिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *