अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १४ गते।
ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकोप्टरको प्रयोग गरिएको छ ।
डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।
स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो ।
हेलिकोप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशकले जानकारी दिनुभयो ।
उहाँका अनुसार विषेश प्रविधिको बकेटमा पानी ल्याएर हेलिकोप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएको थियो । उक्त हेलिकोप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको बताइएको छ ।
अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जङ्गलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।