अनलाईन न्युजपाटी,सुर्खेत,समाचारदाता,माघ १६ गते।
तीन दिनको प्रयासपछि बिहीबार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।सुर्खेतको वीरेन्द्रनगर-३ गौतमचोकमा मंगलबार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ ।
प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध कारबाहीका लागि पीडित पक्षले किटानी जाहेरी दिइ प्रकृया अघि बढाउने र घटनालाई लिएर भएका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए।
पीडित पक्षलाई कानुन बामोजिम दिइने क्षतिपूर्तिको लागि तत्काल प्रकिया अघि बढाउने, पीडित पक्षलाई थप राहतका र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने सहमतिसमेत भएको छ ।सहमतिसँगै शव पोष्टमार्टम गरी सद्गत (संस्कार) गर्न आफन्त तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।