सिन्धुपाल्चोकको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज १४ गते

पहिरोका कारण सडक सम्पर्क टुटेको तातोपानी नाका यही असोज १९ गतेदेखि खुल्ने भएको छ ।

नेपाल र चीनका अधिकारीबीच मंगलबार मितेरी पुलमा बसेको बैठकमा नाका असोज १९ गतेदेखि खोल्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

नेपालमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेसँगै र तातोपानी नाकासम्म पुग्ने सडकमा पहिरो गई सडक भत्किएपछि तातोपानीबाट हुने कारोबार ठप्प भएको थियो । नाका खुलाउने विषयमा छलफल गर्नका लागि चीनका तर्फबाट ल्हासाका उच्च अधिकारीहरु आएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपालका तर्फबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित भन्सार प्रमुख एवं नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रमुखहरु छलफलमा सहभागी थिए ।

चीनतर्फबाट आएका सामान लिपिङ पुलमा अनलोड गर्ने र यताका मजदुर तथा चालक गएर ती सामान लोड गरेर ल्याउने सहमति भएको छ ।

नाकामा खटिने चालक र मजदुरको कोरोना परीक्षण ५/५ दिनमा चीनले नै गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *