अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर २२ गते।
अनाधिकृत व्यापार नियन्त्रणका लागि भारत-नेपाल अन्तर सरकारी समिति आइजीसीको बैठक सम्पन्न भएको छ । दुई देशबीच भिडियो कन्फ्रेन्स मार्फत भको बैठकमा व्यापार, पारवाहन तथा सहकार्यका विषययमा छलफल भएको छ ।
बैठकमा भारत-नेपाल दुवै मुलुकका विभिन्न मन्त्रालयका प्रतिनिधीहरु सहभागी थिए । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र भारत सरकारको वाणिज्य मन्त्रालयका सचिव वाधवले भारतीय टोलीको नेतृत्व गर्नुभएको थियो । त्यस्तै नेपाल पक्षका विभिन्न मन्त्रालय एवम् विभागका अधिकारीहरुको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले गर्नुभएको थियो ।
आइजीसी दुई देशबीच व्यापार तथा लगानीलाई प्रवर्धन गर्ने प्रमुख द्धिपक्षीय संयन्त्रको रुपमा रहेको छ । बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमुख एजेण्डामा भएका प्रगतिबारे समिक्षा गरिएको थियो ।

उक्त बैठकमा व्यापार तथा पारवाहन सन्धिको बृहत समिक्षा, रेलसेवा सम्झौतामा संशोधन, लगानी प्रवर्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको बिज्ञप्ती मार्फत जनाइएको छ ।
व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्ने प्रयासकाबारे पनि दुवै पक्षबीच विस्तृत छलफलसमेत भएको बताइएको छ ।
आजको आइसीजी बैठकको तयारीका लागि यही मंसीर १८ देखि १९ सम्म अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो । नेपालको आयात तथा निर्यात दुवैको क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहेको छ ।