अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस ७ गते।
संसद् विघटन भएर आम निर्वाचनको घोषणा भएसँगै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी औपचारिकरुपमा नै विभाजनको संघारमा पुगेको छ ।
संसद् विघटनपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले आफू पक्षका सांसदहरुको भेला गरेर औपचारिक फुटको दिशामा पुगेको हो ।
आज प्रधानमन्त्री एवं पार्टी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूहको अलग-अलग केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बिहान ९ बजे बैठक बोलाएको छ । अर्कोतर्फ पार्टी अध्यक्ष प्रचण्ड र नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ । दुवै पक्षले एकले अर्कोलाई अनुशासनको कारबाही गर्ने उद्देश्यले आज केन्द्रीय कमिटी आह्वान गरेका हुन् । बैठकका लागि उपत्यकाबाहिर रहेका दुवै पक्षका केन्द्रीय सदस्य काठमाडौंमा भेला हुँदै छन् ।
प्रचण्ड-माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरिएको पत्र निर्वाचन आयोगमा पेश गरिसकेको छ ।
पार्टी एकता टुंगिन नपाउँदै प्रचण्डले एकता भंग गरेको अभियोगसहित निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओली पक्षको तयारी छ । प्रचण्डसहित अरू केहि नेतालाई पनि कारबाही गरेर निर्वाचन आयोगलाई जानकारी गराउने सम्भावना रहेको स्रोत् बताउछ ।