चीनको वुहानमा महामारीबाट मृत्यु हुनेको सङ्ख्या पहिले भनिए भन्दा झण्डै ५० प्रतिशत बढी देखाउदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, बैशाख ०५ गते।

चीनमा कोरोनाभाइरस महामारी सुरु भएको वुहान सहरमा ज्यान गुमाएकाहरूको आधिकारीक सङ्ख्या पहिले बताइएको भन्दा झण्डै ५० प्रतिशतले धेरै रहेको जनाइएको छ।

अस्पताल बाहिर भएका मृत्युहरूको अद्यावधिक विवरण भन्दै त्यहाँ थप १,२९० मृत्युका घटनालाई कोरोनाभाइरसबाट ज्यान गुमाउनेहरूको तथ्याङ्कमा थप गरीएको हो। यसैबिचमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसहित थुप्रैले चीनले प्रस्तुत गरेको कोरोनाभाइरस र यसका कारण भएको मृत्युसँग सम्बन्धित तथ्याङ्क प्रति श‌ङ्का व्यक्त गर्ने गरेका थिए।

नयाँ तथ्याङ्क सार्वजनिक गर्दै वुहान शहरका अधिकारीहरूले यथार्थ विवरणलाई कतै नलुकाइएको बताएका छन्। एक सरकारी पत्रिका चाइना डेलीले वुहान सहरको मुख्यालयलाई उद्धृत गर्दै प्रारम्भिक विवरणमा केही गल्ती भएको र नयाँ तथ्याङ्क सार्वजनिक गर्न ढिलो भएको बताएको छ।  वुहानका एक करोड १० लाख बासिन्दाहरूले हालै मात्र खुकुलो गरिएको कठोर लकडाउनमा ११ साता बिताएका थिए।

महामारीकै कारण विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा ६.८ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जीडिपी) खुम्चिएको शुक्रवार सार्वजनिक सरकारी विवरणले जनाएको छ। कोरोना भाइरसका कारण चीनभित्रै थुप्रै कल-कारखाना तथा व्यवसाय बन्द भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *