अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,माघ २६गते।
कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी सरकारले पूरा गरेको छ ।
गत असोज २ गते निकै हर्षोल्लासका साथ भारतबाट दुई सेट डेमो ट्रेन ल्याएर थन्काइएको कुर्था–जयनगर रेल सञ्चालनका लागि भारतबाट कर्मचारीहरु ल्याइने भएको छ । रेल संचालनको लागि २६ जना प्राविधिक कर्मचारी भारतबाट केही दिनमा आउने र त्यसपछि प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेपछि नियमितरुपमा संचालन गर्ने तयारी भैरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
भाडादर र टिकटका विषयमा यसअघि नै टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले बताउनुभयो । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बसलगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उहाँले बताउनुभयो । सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न रु ७५ भाडादर तोकिएको छ । उहाँले भन्नुभयो, “डिलक्सको भाडा सामान्यभन्दा चारपाँच गुणा बढी हुनेछ ।”