अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर २१ गते।
सीताराम विवाह महोत्सवमा सहभागी हुने श्रद्धालुहरुलाई स्वास्थ्य मापदण्डको परिपालना गर्न मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले विवाह महोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्दै कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाउन श्रद्धालुहरुमा आग्रह गरेका छन् ।

नेपाल र भारतबाट ठूलो संख्यामा श्रद्धालुहरु जनकपुरधाम आउने भएकाले कोरोनाको जोखिम बढ्न सक्ने जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य सतर्कता अपनाउन मुख्यमन्त्री राउतले अपिल गरेका छन् ।
त्रेतायुगमा भगवान् राम र सीताको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा भव्यतापूर्वक सीताराम विवाह महोत्सव मनाउँदै आइएको छ । विवाह महोत्सवका अवसरमा प्रदेश २ सरकारले मंसिर २२ गते बुधबार सार्वजनिक विदा दिने घोषणा गरेको छ ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिकाले विवाह महोत्सवलाई दृष्टिगत गरी नगरक्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाह महोत्सवको उपलक्ष्यमा मङ्गलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर साहले जानकारी दिएका छन् ।
विवाह महोत्सव मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म विदा दिने निर्णय भएको मेयर साहले जानकारी दिए ।