अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस १९ गते।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम गर्न र फैलन नदिन डोल्पामा पाँच दिन लकडाउनको घोषणा गरिएको छ।
आइतबारदेखि पाँच दिन लकडाउन लगाइएको जिल्ला प्रशासन कार्यालय, डोल्पाले जनाएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि पुस २३ गतेसम्म सदरमुकाम दुनैको पूर्वमा लोचाखोला, पश्चिममा सुलिगाड, उत्तरमा भेरी पारीको सम्पूर्ण बस्ती र दक्षिणमा तिप्ला जानेबाटो क्षेत्रभित्र लकडाउन घोषणा गरिएको छ।

यो अवधिमा बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट गर्न पाइनेछैन।
लकडाउनमा पनि दैनिक उपभोग्य सामान खरिदका लागि समय तोकिएको छ। सदरमुकाम दुनै बजार क्षेत्रका खाद्यवस्तुलगायतका पसल बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र खुला रहनेछन्। तर, होटल, रेस्टुरेन्ट, सैलुन, पुल हाउसजस्ता व्यवसाय पूर्ण रुपमा बन्द रहने छन्।