अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,पुस २९ गते।
हाल देशको पहाडी भू-भागहरुमा आँशिक बदली रहेको छ भने उपत्यका लगायत तराई भू-भागका धरै जसो स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ ।
पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा अस्ति सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो । बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो र अस्ति तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको हो । आज पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेशको तराईका भु-भागमा आंशिक बदली रहनुका साथै देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको विभिन्न भू-भागमा तापक्रममा हल्का गिरावट आउनुको साथै तराईका धेरै भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सु्/कुहिरो समेत लाग्ने संभावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।