अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ६ गते।
फोन र म्यासेजमार्फत धम्क्याएर रकम असुली गर्न खोज्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले तीन जनालाई काठमाडौंको बागबजारबाट सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-२का १९ वर्षीय प्रदीप कार्की, शैलुङ गाउँपालिका-८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की छन्।
उनीहरू अहिले काठमाडौंको असनमा बस्दै आएका थिए।
महानगरीय अपराध महाशाखाले उनीहरुले फोन र म्यासेजमार्फत रकम माग्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको जनाएको छ ।
पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ ।
थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।