अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १४ गते।
वैशाख १५ गतेदेखि कास्की जिल्लामा एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि एक हप्तासम्मका लागि जिल्लामा निषेधाज्ञा लागू हुने सूचना जारी गरेको हो । सोमबार राति सूचना निकालेर प्रशासनले २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ ।

प्रशासनले उक्त अवधिभर अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
जिल्ला भित्र संचालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुबाहक सार्वजनिक तथा निजि सवारीसाधनहरुमा सो अवधिभर जोरबिजोर प्रणाली लागु भएको प्रशासनले जनाएको छ । जोरबिजोर प्रणाली अन्तर्गत जोर दिनमा जोर नम्बरका सवारीसाधन र बिजोर दिनमा बिजोर नम्बरका सवारीसाधन संचालन हुनेछन ।
प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । डिपार्टमेन्टल स्टोर्स, सपिङ मल र ठूला स्टोरहरु सञ्चालनमा रोक लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा टेक अवे सेवा मात्र सञ्चालन हुने गरी बिहान ८ देखि बेलुका ८ बजेसम्म खोल्न पाइनेछ ।