अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख १७ गते।
निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गरिने भएको छ ।
अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ।
बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो । केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।
यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन्। यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ ।
यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ।