काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख २३ गते।

आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) भने बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्यरूपमा पालना गर्नुपर्ने छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेकाले काठमाडौँ उपत्यकामा थप कडाइ गर्दै आज बिहानैदेखि लागू हुने गरी आदेश जारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

यसअघि वैशाख १६ देखि २२ गते (बुधबार राति १२ बजे) सम्मका लागि निषेधको आदेश जारी भएकामा यही २१ गते उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधको आदेश एक साता थप्ने निर्णय गरेको हो । आदेश २९ गते राति १२ बजेसम्म कायम रहने छ ।

नेपालमा नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमण फैलिएको र त्यसको प्रभाव उपत्यकामा बढ्दो रहेकाले अझै सुरक्षा निगरानी बढाउनुपर्ने आवश्यकता महसुस गरी केही कडाइ गरिएको जनाइएको छ ।

यसपालि भने फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार-व्यवसाय एवं कवाडी सङ्कलनमा समेत रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *