अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन १२ गते।
सरकारी कर्मचारीले १० दिने भ्रमणका लागि पाउने भनिएको छुट्टी आगामी भदौदेखि कार्यान्वयनमा आउने भएको छ ।
विशेष कोभिड प्रभावित पर्यटन क्षेत्रको उत्थानका लागि भन्दै सरकारले चालु आर्थिक २०७८–७९ को बजेट मार्फत नै घोषणा गरेको १० दिनको कर्मचारी भ्रमण काज छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको हो ।
यसका लागि आवश्यक नीति तथा निर्देशिका तयार भइसकेको र अब कार्यान्वयनमा मात्र लैजान बाँकी रहेको संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले जनाएको छ ।
भ्रमण छुट्टी कार्यक्रम आर्थिक वर्षको सुरुमै लागू गर्नुपर्ने थियो । तर, त्यससम्बन्धी नीति तथा कार्यविधि पूर्ण रुपमा तयार नभएपछि केही ढिलाई हुन गएको थियो ।
तयार गरिएको भ्रमण निर्देशिकामा काज भ्रमणमा जाने कर्मचारीले आफ्नो घर नजिकै (पायक पर्ने) तथा माइती–ससुराली क्षेत्रमा भने भ्रमण क्षेत्र निषेध गरिएको छ ।
जारी हुन लागेको नीतिमा तोकिए बमोजिम फिल्डमै गई खर्च गर्न र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्ने भनिएको छ । १० दिन भ्रमण विदामा रहँदा कुनै तलव सुविधा काँटिने छैन ।