कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थाल्यो: प्रधानमन्त्री शेरबहादुर देउवा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन २४ गते।

कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले नेपालमा पनि कोरोना महामारीको तेस्रो लहरको लक्षण देखिन थालेको बताउनुभएको हो ।

उहाँले भन्नुभएको छ, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं । कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै शुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन ।’

त्यस्तै उहाँले अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कन आग्रह पनि गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं । बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं । भौतिक दूरी कायम गरौं । बेला–बेलामा साबुनपानीले हात धोऔं । स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौं ।’

कोरोना महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम नै खोप भएको उल्लेख गर्दै उहाँले अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी रहेको जानकारी पनि गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *