मकवानपुरमा भदौ १० गतेसम्म निषेधाज्ञा थपिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,साउन ३१ गते।

मकवानपुरमा  भदौ १० गतेसम्म निषेधाज्ञा थपिएको छ

कोरोना संक्रमितको संख्या बढ्‍दै गएपछि आइतबार बसेको बैठकले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिले कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै जारी निषेधाज्ञालाई आगामी भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

उक्त निर्णय साउन ३२ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यसअघि गत साउन २३ गतेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको बैठकले साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको थियो । 

उक्त बैठकले अत्यावश्यक उपभोग्य वस्तु विक्री वितरण गर्ने पसल व्यवसाय विहान ५ बजेदेखि विहान १० बजेसम्म र अन्य व्यवसायहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्ला गर्ने निर्णय गरेको हो । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेका अनुसार, अत्यावश्यक खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्रीवितरण गर्ने व्यवसायहरु बिहान ५ बजेदेखि विहान १० बजेसम्म खोल्न अनुमति दिइएको छ ।

त्यस्तै बैठकमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने गरी दिने निर्णय गरिएको प्रजिअ पाण्डेले बताए ।

सार्वजनिक सवारी साधनको हकमा भने जोर–बिजोर प्रणालीमा कुल सिट क्षमताभन्दा बढी यात्रु नराख्ने गरी बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने उनले बताए ।
निजी सवारी साधनको हकमा भने जोर बिजोर प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर संचालन गर्न पाइने गरी बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *