अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १३ गते।
गौरा पर्वको आज तेस्रो दिन ब्रतालु महिलाहरुले गौरादेवीलाई गौराघरमा भित्र्याउदै छन्।
सुदूरपश्चिमको स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु महिलाहरुले विशेष दिनको रुपमा लिने गरेका छन्।
ब्रतालु महिलाहरुले बिहानै नुवाईधुवाई गरेर साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ। आज अमुक्ताभरण सप्तमीका दिन ब्रतालु महिलाहरु एक ठाउँमा जमा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ ।
ब्रतालु महिलाहरुले धारण गर्ने बिशेष प्रकारको धागो अर्थात दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ। आजको गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन ब्रतालु महिलाहरुले धारण गर्ने गर्दछन् ।
आज सप्तमीको दिनमा गौरा र महेश्वरको पूजागरी ब्रतालु महिलाहरुले राति मिठोमसिनो खाना खाने चलन छ।