अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।
गोरखाको मनकामना र गोरखकाली मन्दिर भदौ २३ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिकस्थलहरु भक्तजनका लागि खुला गर्ने निर्णय गरेको हो । बढी भीडभाड हुने मनकामना मन्दिरमा भने ढोका बाहिरबाट पूजा गर्ने व्यवस्था मिलाउनुपर्ने मापदण्ड तयार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।
मन्दिर खुलेसँगै भक्तजनहरुले पूजाआजा गर्न पाउनेछन् ।
‘भक्तजनले ल्याउनुभएको पूजाका सामग्री मन्दिरका सहयोगीहरुले मूल पुजारीसम्म पुर्याइदिनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले चाहिं बाहिरैबाट दर्शन गर्नुहुनेछ ।’ मन्दिर दर्शनका लागि लाइनमा बस्दा कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उनले बताए । मास्क र सेनिटाइजर अनिवार्य गरिएको छ ।