नेपाली हिन्दू महिलाको मुख्य पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २३ गते।

नेपाली हिन्दू महिलाको मुख्य पर्व हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदैछ ।

भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ ।

विभिन्न मीठा मिठा परिकारका साथ चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ ।

पूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि ब्रत बस्ने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *