नेपालीको महान चाड बडादशैं आजबाट शुरु, आज घर-घरमा घटस्थापना गरिंदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज २१ गते।

हिन्दू नेपालीहरुको महान चाड बडादशैं आजबाट शुरु भएको छ ।

वडा दशैंको पहिलो दिन आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्दैछन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११:४६ मिनेटमा रहेको जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

घटस्थापनाको दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

यता दसैंको लागि जनकपुरको शक्तिपीठहरुमा विशेष रुपले सजाबट गरिएको छ । प्रत्येक वर्ष झै यसपटक जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा तामझामको लागि विशेष रुपले सरसज्जा गरिएको हो । यस्तै रामानन्दचोक, भ्रमरपुराचोक, मुरलीचोक लगायतको स्थानमा दुर्गापूजाको लागि भव्य तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *