आज दीपावली: धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,कार्तिक १८ गते।

नेपालीहरुको दोस्रो ठूलो महान चाड दीपावली धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ ।

यमपञ्चकको तेस्रो दिन अर्थात कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदै आएको छ ।

आज साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म चालको पिठोबाट लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अँध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद तथा फलफूल राखेर धनकी देवी लक्ष्मीको धुमधाम पूजाअर्चना गरिन्छ । लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास रहिआएको छ ।

आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । लक्ष्मी पूजाका दिन बिहानै गाई पूजा गर्ने प्रचलन नेपालका केही भागमा भए पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजाको विधान शास्त्रमा रहेको छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *