अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १६ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
सुदूर पश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
नेपालमा एकसाथ तीन वटा मौसम प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मौसम बदली, वर्षा, हिमपात तथा चिसो बढ्ने क्रम जारी रहेको मौसमविद्ले बताएका छन्।
बिहीबार देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।
‘बिहीबार रातिदेखि काठमाडौंको मौसम बदली हुने देखिएको भने पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा पनि हुन सक्छ,’ मौसमविद्ले बताएका छन्।